Home cricket पीएम कप क्रिकेटका उत्कृष्ट खेलाडी सागर पुन

पीएम कप क्रिकेटका उत्कृष्ट खेलाडी सागर पुन

त्रिभुवन आर्मी क्लवका अलराउण्डर सागर पुन एक्सेल्सिया कलेज प्रधानमन्त्री कपका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

दोस्रो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आमी उपविजेतामा सीमित भए पनि सागरको पदर्शन भने शानदार रह्यो । उनले ब्याटिङ र बलिङमा उल्लेखनीय प्रदर्शन गर्दै आर्मीलाई फाइनलमा पुर्याएका थिए ।

राष्ट्रिय टोलीका पूर्व अलराउण्डर सागरले ब्याटिङतर्फ ६ इनिङमा २११ रन बनाएका थिए । प्रदेश नम्बर ५ विरुद्धको खेलमा उनले ११८ रनको शतकीय पारी खेलेका थिए ।

त्यस्तै बलिङतर्फ सागरले ६ इनिङमा ११ विकेट लिएका थिए । सागरले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान भने एपीएफ क्लवका प्रदीप ऐरी चुनिए । उनले प्रतियोगिताको ६ इनिङमा सर्बाधिक ३१५ रन बनाएका थिए । ऐरीले समूह चरणमा प्रदेश नम्बर २ विरुद्ध १५८ रनको शानदार पारी खेलेका थिए ।

प्रतियोगितामा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्बाधिक स्कोर हो । त्यस्तै एपीएफलाई उपाधि दिलाउन फाइनलमा उनले ६३ रनको अर्धशकीय संयमित पारी खेलेका थिए । उत्कृष्ट ब्याट्सम्यानको रुपमा ऐरीले ३० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको ६ इनिङमा सर्बाधिक १२ विकेट लिएका त्रिभुवन आर्मी क्लवका शुसान भारी उत्कृष्ट बलर घोषित भए । उनले पनि ३० हजार रुपैयाँ पुरस्कार पाए । उनले समूह चरणमा प्रदेश १ विरुद्धको खेलमा ६.३ ओभर बलिङ गरेर १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिएका थिए । यो उनको उत्कृष्ट बलिङ तथ्यांक हो ।

प्रतियोगितामा एक शतक र ह्याट्रिक गरेका प्रदेश ४ का १८ वर्षीय हरि चौहानले इमर्जिङ खेलाडीको रुपमा ५० हजार रुपैयाँ पुरस्कार पाए । उक्त पुरस्कार इसेवाले प्रायोजन गरेको हो ।