Home cricket निराश हुनै पर्दैन, एक जितले पनि दिलाउन सक्छ एक दिवसीय मान्यता !

निराश हुनै पर्दैन, एक जितले पनि दिलाउन सक्छ एक दिवसीय मान्यता !

आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत शुरुवाती खेलमा नेपालले टेस्ट मान्यताप्राप्त घरेलु टोली जिम्बाब्वेसँग हार ब्योहोरेको छ । ३८१ रनको भीमकाय लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन जोड्यो ।

सधैं साथ दिँदै आएको बलिङले काम नगरेको दिन ब्याटिङले केही आत्मविश्वास फर्काएको छ । २ सय रन बनाउन पनि निकै ठूलो संघर्ष गर्ने गरेको टोलीले बलियो प्रतिद्वन्द्वीविरुद्ध जोडेको यो स्कोर ब्याट्सम्यानहरूको आत्मविश्वासका लागि निकै महत्त्वपूर्ण छ ।

पहिलो खेलमै हार ब्योहोरेपछि समर्थकहरूमा निराशा देखिएको छ । तर निराश भइहाल्नुपर्ने अवस्था छैन । पहिलो खेलमै हार र रनरेटमा निकै पछि परे पनि नेपालले सुपर सिंक्समा स्थान बनाउने सम्भावना अझै जीवित छ । समूह चरणमा नेपालले अब स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ।

बाँकी ३ मध्ये २ खेलमा जीतले नेपाललाई सुपरसिक्समा पुर्‍याउनसक्छ । नकारात्मक रनरेटमा सुधार नगर्ने हो भने ३ वटै खेल जित्नुपर्ने पनि हुनसक्छ । बाँकी ३ वटै टोली नेपालका लागि परिचित र बलिया प्रतिद्वन्द्वी हुन् ।

प्रतियोगितामा सहभागी १० मध्ये ५ टोली (वेस्ट इण्डिज, जिम्बाब्वे, अफगानिस्तान, आयरल्याण्ड र नेदरल्याण्ड)सँग यो मान्यता छ । बाँकी ३ टोलीले ४ वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउने छन् । सो ३ स्थानका लागि नेपाल, स्कटल्याण्ड, हङकङ, युएई र पपुवान्युगिनी प्रतिस्पर्धी छन् ।

सातौं स्थानको प्लेअफमा नेपालका सम्भावित प्रतिद्वन्द्वी युएई वा पपुवान्युगिनी हुन् । त्यसो त क्रिकेट सम्भावना नै सम्भावनाको खेल भएकाले वेस्ट इण्डिज, आयरल्याण्ड वा नेदरल्याण्ड नहोलान् भन्न सकिन्न । तर यी ३ टोलीलाई प्रतिद्वन्द्वीका रूपमा पाउने अवस्थामा एकमात्र जीत एकदिवसीय मान्यताका लागि पर्याप्त नहुनसक्छ ।
एकदिवसीय मान्यता नै पाइन्न कि भनेर अहिले नै डराइहाल्नुपर्ने अवस्था छैन । नेपालले निर्धक्क भएर आफ्नो क्षमताअनुसार खेल्ने हो भने सुपरसिक्समा पुग्ने सम्भावना जीवितै छ ।