Home cricket काजीबारा लायन्स् द्वारा नेवार वारियर्स ६ रनले पराजित

काजीबारा लायन्स् द्वारा नेवार वारियर्स ६ रनले पराजित

नेपालले क्रिकेटमा एकदिवसीय मान्यता पाएसँगै नेपालका विभिन्न कुनाकाप्चामा क्रिकेट आयोजनाहरु लगातार भईरहेका छन् । यसैक्रममा जाजरकोट जस्तो दुर्गम जिल्लामा क्रिकेट प्रतियोगिता हुनु भनेको क्रिकेटप्रतिको सद्भावलाई जन्माउनु हो । भौगोलिक हिसाबले विकट जाजरकोटमा खेल्नका लागि न त मैदान छ, न खेल्नुपर्छ भनेर कसैले हौसला, साथ सहयोग गर्छ ।

यस्तै बाध्यताका बावजुत पनि जाजरकोट युवा क्रिकेट क्लवले आफ्नो जिल्लामा रहेका खेलाडीको विकास होस भन्ने चाहनाले प्रथम जाजरकोट प्रिमियर लिग (जेपिएल) बिहीबारबाट शुरु गर्यो । प्रतियोगितामा अक्सनद्वारा खेलाडी छानी ४ वटा टिम घोषणा गरेको जाजरकोट युवा क्रिकेट क्लवका अध्यक्ष अनिष कुमार कार्कीले बताए । उनले जिल्लामा क्रिकेटको माहोल जमाउन प्रतियोगिता गर्न लागेको जानकारी दिए ।

यसै क्रममा शुक्रबार भएको दोस्रो खेलमा काजीवारा लायन्सले नेवार वारियर्सलाई ६ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग रोजेको काजीवाराले १२ ओभरमा सबै विकेट गुमाई १३४ रनको लक्ष्य दिएको दिएको थियो । जसमा सौगात कार्कीले सर्वाधिक २७ बलमा ५५ रन र कप्तान अनिष कार्कीले १२ बलमा ३६ रनको योगदान दिएको थिए भने कुशल कार्कीले ३२ बलमा २७ रनको पारी खेल्दै टिमलाई योगदान गरेका थिए ।

यसैगरी नेवार वारियर्सका बिपिन भँडेलले ३ विकेट र प्रनाम भँडेलले २ विकेट हात पारेका थिए ।

जवाफी ब्याटिङ्गमा उत्रेको नेवार वारियर्सले निर्धारित २० ओभर खेलेर ५ विकेटको क्षतिमा जम्मा १२९ रन मात्र बनाउन सक्यो । जसमा सर्वाधिक रन बिपिन भँडेलले ४३ र प्रनाम भँडेलले २३ को पारी खेलेका थिए ।

काजीवाराको तर्फबाट कप्तान अनिष कार्कीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारेका थिए । साथै आरोग्य जंग शाह, प्रकाश बि.सी.र अविषेक भण्डारीले समान १/१ विकेट हात पारे ।

उक्त खेलमा अनिष कुमार कार्की म्यान अफ द म्याच घोषित भए पनि उनले आफ्नै टिमका आरोग्य जंग शाहलाई हस्तान्तरण गरेका थिए ।

प्रतियाेगिता अन्तरगत शुक्रबार पहिलाे खेल राेयल दरबार र नेवार वारिअर्स तथा दाेस्राे खेल काजिबारा लायन्स र याेङ गन बिच हुने छ ।